तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले सोमबार पनि धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा आफ्नो औसत अवस्थाभन्दा केही उत्तरतर्फ सर्दै नेपालको तराई क्षेत्र नजिक पुगेको छ।

महाशाखाका अनुसार यसका कारण देशभर आंशिकदेखि सामान्य बदली कायम छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि पानी परिरहेको छ। सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा दिनभरि अधिकांश स्थानमा बदली रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन्।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा पनि यस्तै मौसमी गतिविधि देखिन सक्ने महाशाखाको प्रक्षेपण छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही पहाडी र तराई क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका एक–दुई स्थानमा समेत भारी वर्षा हुन सक्ने भएकाले सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

Back To Top
Modern Footer Design