पोखरामा नक्कली बहुमूल्य ढुङ्गा देखाएर ठगी गर्ने गिरोहका ६ जना पक्राउ

पोखरा । सर्वसाधारणलाई बहुमूल्य ढुङ्गाको प्रलोभन देखाएर ठगी गर्दै आएको एक समूहलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका–२६, कालीकाचोक क्षेत्रमा नक्कली ढुङ्गालाई बहुमूल्य वस्तु भन्दै रकम असुल्ने गतिविधिमा संलग्न ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–२ का राजन विक, रोशनी विक, बाटुली भनिने खगिसरा कामी तथा म्याग्दीका दिलबहादुर बुढामगर, दीपक गोतामे र प्रेमचन्द्र विश्वकर्मा रहेका छन्। प्रहरीका अनुसार उनीहरू बस्दै आएको डेरा तथा शरीर खानतलासी गर्दा ठगीमा प्रयोग हुने विभिन्न सामग्री र चम्किलो सेतो ढुङ्गाजस्ता वस्तु बरामद गरिएको छ। ती सामग्रीलाई बहुमूल्य ढुङ्गा भएको भ्रम सिर्जना गरी सर्वसाधारणबाट रकम असुल्ने उद्देश्यले प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कालीकाचोक क्षेत्रमा शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैविरुद्ध ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Back To Top
Modern Footer Design