देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा औसत स्थानभन्दा केही उत्तरतर्फ तराई नजिक रहेको छ भने पूर्वी क्षेत्रमा भने औसत स्थानकै आसपास रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र, साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, साथै मधेस, कोशी र बागमती प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। रातिको समयमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

Back To Top
Modern Footer Design