सुनसरी घटनामा सरकार गैरजिम्मेवार बनेको एमालेको आरोप

प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सरकार गैरजिम्मेवार भएको आरोप लगाउनुभएको छ । 
बिहीवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उक्त घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रमुख सचेतक महरले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतामाथि प्रहार हुने गरी देशका विभिन्न भागमा सामाजिक सद्भाव खलबल्याउने गतिविधि भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस्ता संवेदनशील घटना हुँदा समेत राज्य र वर्तमान सरकार मूकदर्शक बनेको र गैरजिम्मेवार भूमिका निर्वाह गरेको आरोप लगाउनु भयो । महरले सुनसरीको घटना अहिले देशभर फैलिँदै गएको उल्लेख गर्दै विराटनगर, सप्तरी, वीरगञ्ज र काठमाडौंको माईतीघरसम्म यसका बाछिटा पुग्नु चिन्ताको विषय भएको बताउनु भयो । उहाँले देशको शान्ति सुरक्षा र सामाजिक सद्भाव बिथोल्न राजनीतिक घुसपैठ र षड्यन्त्र भइरहेको हुन सक्ने आशंका समेत व्यक्त गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘नेपालको विविधता भित्रको एकता हाम्रो मौलिक विशेषता हो । तर, पछिल्लो समय जातीय र धार्मिक सद्भाव खलबल्याउने खालका गतिविधि भइरहेका छन् । यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुको सट्टा सरकार र खासगरी बालुवाटार (प्रधानमन्त्री निवास) नै यस्ता विषयमा उदासीन देखिनु खेदपूर्ण छ । देशमा यस्ता गम्भीर घटना भइरहँदा प्रधानमन्त्री न त सर्वदलीय बैठकमा देखिनुहुन्छ, न संसद्मा, न त घटनास्थलमा नै जानुहुन्छ । उहाँ केवल सामाजिक सञ्जालमा मात्र सीमित हुनुहुन्छ । यो कस्तो खालको कार्यशैली हो ? जनताले यसमा गम्भीर प्रश्न उठाइरहेका छन् ।’


विगतमा राज्यबाट बल प्रयोग हुँदा वा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भाष्य स्थापित गर्नेहरू नै अहिले सरकारमा रहेको स्मरण गराउँदै महरले कप्तानगञ्ज घटनाको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने माग गर्नुभयो ।

Back To Top
Modern Footer Design