सप्तरी । कप्तानगञ्ज घटनापछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सप्तरीको राजविराज र बोदेबरसाईन नगरपालिका क्षेत्रमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यू हटाइएको छ।
सुरक्षा अवस्थाको समीक्षा पश्चात् जिल्ला प्रशासन कार्यालयले कर्फ्यू हटाउने निर्णय गरेको जनाएको छ। यद्यपि, जिल्लामा शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले निषेधाज्ञा भने अझै कायम रहने प्रशासनले स्पष्ट पारेको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३क० बमोजिम जारी निषेधाज्ञा अवधिभर पाँच वा सोभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। यसअघि बोदेबरसाईन नगरपालिकामा बिहीबार राति १० बजेदेखि र राजविराज नगरपालिकामा शुक्रबार बिहान ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागू गरिएको थियो।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच बढेको तनावको प्रभाव सप्तरीसम्म देखिएपछि सम्भावित अप्रिय अवस्था रोक्न प्रशासनले सुरक्षा सतर्कता बढाउँदै निषेधाज्ञा जारी राखेको जनाएको छ। प्रशासनले सबै नागरिकलाई संयमित रहन, कानुनको पालना गर्न तथा अफवाह फैलाउने वा सामाजिक तथा धार्मिक सद्भावमा खलल पुग्ने गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।
