काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ गतेदेखि हुने भनिएको ‘राष्ट्रिय भेला’को ५५१ सदस्यीय मूल आयोजक समितिमा आफ्नो नाम बिना जानकारी र सहमति समावेश गरिएको भन्दै आपत्ति जनाएका छन्।
बिहीबार जारी अपिलमार्फत उनले उक्त भेलासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गर्दै पार्टीको वैधानिक संरचनालाई कमजोर बनाउने वा विभाजन निम्त्याउने गतिविधिमा आफू सहभागी नहुने बताएका छन्। आफू राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्ष रहेको अवस्थामा आफ्नो नाम आयोजक समितिमा राखिएको विषय स्वीकार्य नभएको उनको भनाइ छ।
चम्लागाईंले पार्टीभित्र असन्तुष्टि रहनु स्वाभाविक भए पनि त्यसको समाधान विधान, विधि र संगठनात्मक प्रक्रियाअनुसार खोजिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार नेपाली कांग्रेसको वैधानिक नेतृत्व र संस्थागत संरचनाको विकल्प कुनै समानान्तर वा अवैधानिक भेला हुन सक्दैन। उनले नेतृत्व परिवर्तनको उचित र लोकतान्त्रिक माध्यम महाधिवेशन नै भएको उल्लेख गर्दै असन्तुष्ट पक्षलाई १५औँ महाधिवेशनमार्फत आफ्नो नेतृत्व क्षमता परीक्षण गर्न आग्रह गरेका छन्। साथै भ्रम फैलाउने, समानान्तर गतिविधि सञ्चालन गर्ने र विभाजनको राजनीति त्यागेर खुला लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी हुन उनले आह्वान गरेका छन्।
कांग्रेस लाखौँ कार्यकर्ताको त्याग, बलिदान र जनविश्वासले निर्माण भएको पार्टी भएकाले त्यसलाई कमजोर बनाउने कुनै पनि गतिविधिबाट टाढा रहन उनले कार्यकर्तालाई आग्रह गरेका छन्। साथै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका सदस्य तथा कांग्रेस कार्यकर्तालाई वैधानिक नेतृत्वको पक्षमा दृढ रहन र यस्ता गतिविधिमा संलग्न नहुन पनि उनले अपिल गरेका छन्। चम्लागाईंले पार्टीभित्र देखिएका मतभेदलाई संवाद, सहकार्य र विधानसम्मत प्रतिस्पर्धामार्फत समाधान गर्दै एकताबद्ध, सुदृढ र समयानुकूल कांग्रेस निर्माणमा लाग्न सबै पक्षलाई आग्रह गरेका छन्।
