बुटवल। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेको छ। घटनापछि स्थानीयवासी र भारतीय सुरक्षाकर्मीबीच केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब ३:३० बजे सादा पोसाकका करिब १५ जना तथा हतियारसहित अन्य सुरक्षाकर्मी गरी झन्डै ६० जनाको टोली नेपाली भूमिमा प्रवेश गरेको थियो। उक्त टोलीले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको अस्थायी बाँध भत्काएको स्थानीयको दाबी छ।
बाँध भत्काइएपछि स्थानीयवासी विरोधमा उत्रिएका थिए। घटनाबारे सम्बन्धित निकायले थप जानकारी सार्वजनिक गर्न बाँकी रहेको छ भने स्थानीय प्रशासनले पनि घटनाको विवरण संकलन गरिरहेको जनाएको छ।
