मनसुन सक्रियः आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ, नेपालको तराई क्षेत्र नजिक अवस्थित छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र तराईका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि मौसम पूर्ण रूपमा नखुल्ने देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी–खोला आसपास र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Back To Top
Modern Footer Design