युगान्डाका फुटबल कप्तान डेभिड ओओरीको लुटेराको आक्रमणमा मृत्यु

काठमाडौं । युगान्डाका चर्चित फुटबलर तथा स्पोर्ट्स क्लब भिल्लाका कप्तान डेभिड ओओरीको लुटेराको आक्रमणमा मृत्यु भएको छ। २७ वर्षीय ओओरीमाथि राजधानी कम्पालामा आफ्नै घर नजिक आक्रमण भएको थियो।

प्रहरीका अनुसार घर फर्किरहेका बेला लुटेराहरूको समूहले ओओरीलाई रोकेर मोबाइल फोन र अन्य सामान लुट्न खोजेको थियो। उनले प्रतिरोध गरेपछि आक्रमणकारीहरूले ढुंगाले निर्घात कुटपिट गरेका थिए। गम्भीर घाइते अवस्थामा भेटिएका ओओरीलाई सुरुमा स्थानीय क्लिनिक र त्यसपछि अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार उनको निधन भएको प्रहरीले जनाएको छ। ओओरी युगान्डाको सफल क्लब स्पोर्ट्स क्लब भिल्लाका कप्तान थिए। उनले राष्ट्रिय टोलीबाट पनि अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए।

कोलगेट’ उपनामले परिचित उनी डिफेन्डर र मिडफिल्डर दुवै भूमिकामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रूपमा चिनिन्थे। उनको कप्तानीमा क्लबले सन् २०२४ मा दुई दशकपछि लिग उपाधि जितेको थियो। उनको निधनपछि युगान्डाभर शोक छाएको छ। संसदले उनको सम्मानमा एक मिनेट मौनधारण गरेको छ भने युगान्डा फुटबल महासंघले उनलाई प्रेरणादायी कप्तान र उत्कृष्ट खेलाडीको रूपमा स्मरण गरेको छ। यस घटनापछि कम्पालामा बढ्दो हिंसात्मक अपराधप्रति नागरिकले चिन्ता व्यक्त गरेका छन्। केही साताअघि मात्रै अर्का राष्ट्रिय रग्बी खेलाडी सिड्नी गोङ्गोडियोको पनि यस्तै घटनामा ज्यान गएको थियो। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

Back To Top
Modern Footer Design