काठमाडौँ । कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा एकै दिन दुईपटक आक्रमणको घटना भएको छ।
दिउँसो स्वास्थ्यकर्मीमाथि कुटपिट भएको केही घण्टापछि राति अस्पताल परिसरमै प्रवेश गरी तोडफोड गरिएको हो। शुक्रबार दिउँसो मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि हातपात भएको थियो। उक्त घटनाबारे साँझ स्वास्थ्यकर्मी, स्थानीयवासी, जनप्रतिनिधि तथा प्रहरीबीच छलफलसमेत भएको थियो।
तर घटनालाई आपसी सहमतिमा टुंग्याउने प्रयास स्वास्थ्यकर्मीहरूले अस्वीकार गर्दै दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग राखेका थिए। छलफलपछि अस्पताल फर्किएको केही समयमै राति करिब सवा ९ बजे स्थानीय तपेन्द्र बम अस्पताल परिसरमा प्रवेश गरेको बताइएको छ। अस्पतालभित्र प्रवेश गरेपछि बमले अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनमाथि हातपात गरेको आरोप छ। त्यसपछि अस्पतालका विभिन्न संरचना तथा उपकरणमा समेत तोडफोड भएको जनाइएको छ।
अस्पतालका अनुसार ओपीडीमा रहेको भिडियो स्क्यान मेसिन, खोप राख्ने फ्रिज, पंखा तथा झ्याललगायतका सामानमा क्षति पुगेको छ। फार्मेसीको ढोका तोडिनुका साथै औषधि राखिएका दराज र र्याकसमेत पल्टाइएको बताइएको छ।डा. अलीका अनुसार पछिल्लो एक सातादेखि स्वास्थ्यकर्मीमाथि गालीगलौज तथा दुर्व्यवहार हुँदै आएको थियो। दिउँसोसमेत कुटपिट भएपछि आफूहरू कुनै सम्झौता गर्ने पक्षमा नरहेको उनले बताएका छन्।
घटनापछि प्रहरीले अस्पताल पुगेर तपेन्द्र बमलाई नियन्त्रणमा लिएको बताइएको छ। लगातारका घटनाका कारण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफूहरू असुरक्षित महसुस गरिरहेको र यस्तो परिस्थितिमा सेवा दिन कठिन भएको बताएका छन्।पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेका अनुसार डा. अलीलाई प्रहरी सुरक्षामा अस्पतालबाट बाहिर पठाउने व्यवस्था गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
