काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।
जनकपुर बोल्ट्सले शनिबार सामाजिक सञ्जालमार्फत हरमितलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो।टोलीले हरमितलाई खेलाडीको रूपमा भित्र्याउनुका साथै आगामी सिजनका लागि कप्तानको जिम्मेवारीसमेत सुम्पिएको छ।स्पिन बलिङसँगै ब्याटिङमा पनि योगदान दिन सक्ने हरमितले एनपीएलका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्सबाट प्रभावशाली प्रदर्शन गरेका थिए।
उनको योगदानकै कारण सुदूरपश्चिम लगातार दुई संस्करणमा उपविजेता बन्न सफल भएको थियो। एनपीएलको पहिलो संस्करणमा हरमितले ८ विकेट हात पार्दै २८ रन बनाएका थिए। दोस्रो संस्करणमा भने उनले ९ खेलबाट १३३ रन बनाउनुका साथै १२ विकेट लिन सफल भएका थिए। अनुभवी अलराउन्डर हरमितको आगमनले जनकपुर बोल्ट्सको टोलीलाई थप सन्तुलित र बलियो बनाउने अपेक्षा गरिएको छ।
