काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री ले मुलुकको संघीयता, लोकतन्त्र र गणतन्त्रसमेत अहिले प्रश्नको घेरामा परेको बताएका छन्।
शनिबार अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै शर्माले राजनीतिक व्यवस्थालाई थप प्रभावकारी बनाउन सुधार र शुद्धीकरण आवश्यक रहेको बताए। विभिन्न आन्दोलन तथा संघर्षबाट प्राप्त अनुभवलाई एकीकृत गर्दै अग्रगामी मोर्चा गठन गरिएको उनको भनाइ छ।
उनले जनयुद्ध, जनआन्दोलन, सडक तथा संसदीय संघर्षसँगै मधेश, थारुवान र जनजाति आन्दोलनबाट प्राप्त अनुभवलाई साझा अभियानमार्फत अघि बढाउने आवश्यकता रहेको बताए। उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग तथा समुदायका मुद्दालाई सम्बोधन गर्न समान उद्देश्य भएका राजनीतिक शक्ति र नेताहरूबीच सहकार्य आवश्यक रहेको उनको धारणा छ। शर्माले राजनीतिक दल र नेतृत्वले विगतका कमजोरीको समीक्षा तथा आत्मसमीक्षा गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार राजनीतिमा सुधार, शुद्धीकरण र परिवर्तनको उद्देश्यसहित अग्रगामी मोर्चा निर्माण गरिएको हो।
परराष्ट्र नीतिका विषयमा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले छिमेकी मुलुकसँग समानता र पारस्परिक सम्मानका आधारमा सम्बन्ध विस्तार गर्नुपर्ने धारणा राखे। यस्तै, लामो समयदेखि समाधान हुन नसकेको सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि वैज्ञानिक र मानवीय दृष्टिकोण अपनाउने मोर्चाको योजना रहेको उनले बताए।वास्तविक सुकुमवासी र भू–माफियाको पहिचान गरी समस्या समाधान गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुने गरी संयुक्त संयन्त्र निर्माण गर्ने योजना समेत अघि सारिएको शर्माले जानकारी दिए।
