निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन समिति बनाउन सांसद सुनारको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दाबी गर्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।

बुधबार संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि नै प्रश्न उठिसकेको अवस्थामा उनलाई पदमा राखेर निष्पक्ष छानबिन हुन नसक्ने बताए। उनले आरोपित व्यक्तिहरूलाई जिम्मेवारीबाट अलग गरेर निष्पक्ष छानबिन अघि बढाउनुपर्ने धारणा राखे। तत्कालीन गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट हटाएर घटनाको अनुसन्धान गर्नुपर्ने उनको माग छ।

सुनारले प्रहरीको बर्दीमै रहेर आफूमाथि लागेको आरोपको छानबिन गर्न नमिल्ने भन्दै घटनालाई फौजदारी अभियोगका रूपमा अनुसन्धान गर्नुपर्ने बताए। निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितता गम्भीर विषय भएको उल्लेख गर्दै उनले दोषी ठहरिए सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही हुनुपर्ने बताए। गत फागुन २१ गते सम्पन्न निर्वाचनका लागि निर्वाचन प्रहरीको पोसाक खरिदमा करिब ६० करोड रुपैयाँ हिनामिना भएको दाबी गर्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो। सोही उजुरीमाथि समितिमा छलफल भइरहेका बेला सांसद सुनारले तत्काल छानबिन समिति गठनको माग गरेका हुन्।

Back To Top
Modern Footer Design