काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा जारी बैठक दिउँसो १२ः३० बजे पुनः सुरु हुने जनाइएको छ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा साउन २४ गतेदेखि चलिरहेको बैठकमा पार्टीको आगामी रणनीति, समसामयिक राजनीतिक विषय तथा आर्थिक अवस्थाबारे छलफल भइरहेको छ। बुधबारको बैठकपछि कांग्रेस प्रवक्ता देवराज चालीसेले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। कांग्रेसले निजी क्षेत्रलाई नियन्त्रण र त्रासमा राख्ने सरकारी प्रवृत्तिको आलोचना गर्दै व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ।
पार्टीले कानुनी सुधार, सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रण, उत्पादनमूलक उद्योगलाई राहत, सहज कर्जा प्रवाह, नीतिगत स्थिरता र वैदेशिक लगानी आकर्षित गर्ने वातावरण बनाउन आवश्यक रहेको जनाएको छ। त्यस्तै, निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न पूर्वाधार आयोजनाका ठेक्काको पुनरावलोकन, मूल्यवृद्धिअनुसार उचित समायोजन तथा निर्माण व्यवसायीलाई बाँकी भुक्तानी तत्काल उपलब्ध गराउनुपर्नेमा कांग्रेसले जोड दिएको छ। बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको खराब कर्जा व्यवस्थापनका लागि स्पष्ट आर्थिक योजना ल्याउनुपर्ने विषय पनि बैठकमा उठेको छ। बुधबारको बैठकमा महामन्त्री गुरुराज घिमिरेसहित २८ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए। छलफल अझै जारी रहेकाले आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने र पार्टीको आगामी रणनीतिबारे थप छलफल हुने बताइएको छ।
