३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

काठमाडौं । सरकारले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ।

आन्तरिक राजस्व विभागले सोमबार अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी साउन १६ देखि ३१ गतेसम्मको अवधिका विजेताको घोषणा गरेको हो। विभागका अनुसार नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्ये १६ जनालाई जनही एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ। त्यस्तै, गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ता बम्पर पुरस्कारअन्तर्गत १० लाख रुपैयाँ जित्न सफल भएका छन्। कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने र व्यवसायीले बिल जारी गर्ने संस्कार विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।

उनले कर प्रणालीलाई व्यवस्थित बनाउँदै राज्यको राजस्व संकलन बढाउने र नागरिक तथा व्यवसायलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन कार्यक्रमले सहयोग पुग्ने बताए। आन्तरिक राजस्व विभाग, प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयको संयुक्त प्रयासमा कार्यक्रम प्राविधिक रूपमा समेत प्रभावकारी ढंगले सञ्चालन भइरहेको उनको भनाइ थियो। विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्म ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहार योजनाका लागि दर्ता भएका थिए। यस्तै, क्यूआर कारोबारमार्फत उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार संख्या ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। कार्यक्रममा साउन महिनाको पहिलो पाक्षिकमा उपहार जितेका विजेतालाई नगद पुरस्कारसमेत प्रदान गरिएको थियो। सरकारले उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्दै कर प्रणालीमा पारदर्शिता र औपचारिक कारोबारको दायरा विस्तार गर्ने उद्देश्यले यस्तो पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Back To Top
Modern Footer Design