काठमाडौं । चालु मनसुन अवधिमा देशभर हालसम्म १ हजार ३ सय १३ वटा विपद्का घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ६७ जनाको मृत्यु भएको छ। सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा प्राधिकरणका सहसचिव प्रदीपकुमार कोइरालाले गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष विपद्का घटना बढे पनि मृत्यु हुनेको अनुपात भने घटेको जानकारी दिए। उनका अनुसार गत वर्ष सोही अवधिमा ५ सय ७१ वटा विपद्का घटना हुँदा ४३ जनाको मृत्यु भएको थियो। गत वर्ष कुल घटनामध्ये करिब साढे ७ प्रतिशतमा मानवीय क्षति भएकोमा यस वर्ष उक्त अनुपात घटेर करिब ५ प्रतिशतमा सीमित भएको उनले बताए।
कोइरालाले पछिल्लो एक दशकको विपद्सम्बन्धी तथ्यांक विश्लेषण गर्दा बाढीबाट हुने मानवीय क्षति क्रमशः घट्दै गए पनि पहिरोका कारण हुने मृत्यु बढिरहेको बताए। २०७२ देखि २०८२ सालसम्मको तथ्यांकलाई त्यसअघिको दशकसँग तुलना गर्दा बाढीबाट हुने मानवीय क्षति घटेको देखिएको उनको भनाइ छ। पूर्वानुमान, पूर्वसूचना प्रणाली, साइरनलगायतका उपाय प्रभावकारी बन्दै गएकाले बाढीबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुगेको उनले बताए। ‘पहिला बाढीबाट मृत्यु हुनेको संख्या बढी थियो भने अहिले बाढीबाट हुने मृत्यु घटेर पहिरोबाट हुने मृत्यु बढेको छ,’ कोइरालाले भने।
उनले आगामी दिनमा विपद् व्यवस्थापनको प्राथमिकता पहिरो नियन्त्रण, पहिरोको पूर्वसूचना प्रणाली विकास तथा जोखिम न्यूनीकरणमा केन्द्रित गर्नुपर्ने बताए। पहिरोको जोखिम कम गर्न सम्बन्धित निकायको जिम्मेवारी स्पष्ट निर्धारण गर्नुपर्ने उनको भनाइ थियो। कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रोल्पामा सडक निर्माणका क्रममा थुपारिएको माटो र वर्षाका कारण आकस्मिक बाढी आएको हुनसक्ने बताए। प्राधिकरणको प्राविधिक टोलीले गरेको अध्ययनका क्रममा सडक खन्ने क्रममा पहिरो गएर निस्किएको माटो सडकको माथिल्लो भागमा थुप्रिएको पाइएको उनले जानकारी दिए। उक्त क्षेत्रमा करिब ४० देखि ५० मिलिमिटरसम्म वर्षा भएपछि थुप्रिएको ग्रेगान बगाएर ल्याउँदा एकैपटक आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको उनले बताए।
उप्रेतीले रोल्पाको घटनामा सडक निर्माणका क्रममा बनेको पहिरो र त्यसबाट थुप्रिएको माटोमा वर्षाको पानी परेपछि ठूलो परिमाणमा ग्रेगान बगेको हुनसक्ने बताए। यस्तै, जाजरकोटमा पछिल्लो समय बाढीपहिरोका घटना बढ्नुको कारणबारे मौसम विभागसँग समन्वय गरी विभिन्न अवधिको वर्षाको तथ्यांक विश्लेषण गरिएको उनले जानकारी दिए। उनका अनुसार २४ घण्टा, ४८ घण्टा, ७२ घण्टा र सात दिनसम्मको वर्षाको अवस्थालाई अध्ययन गर्दा लगातारको वर्षाका कारण जमिनले पानी धान्न नसक्ने अवस्था अर्थात् ‘थ्रेसहोल्ड’ पुगेपछि पहिरोको जोखिम बढेको हुनसक्ने देखिएको छ।
भूकम्पको जोखिम रहेका क्षेत्रमा जमिनमा पहिल्यै चिरा परेको र त्यस्ता स्थानमा लगातार वर्षा हुँदा पहिरोको जोखिम थप बढ्न सक्ने उप्रेतीले बताए। प्राधिकरणका अधिकारीहरूले मनसुनका क्रममा बाढीको पूर्वसूचना तथा पूर्वानुमान प्रणालीमा सुधार भए पनि पहिरोको जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणाली विकासमा अझ बढी ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूले पहिरो नियन्त्रण, जोखिमयुक्त बस्तीको पहिचान, पूर्वसूचना प्रणालीको विस्तार तथा विपद् न्यूनीकरणमा सम्बन्धित निकायको जिम्मेवारी स्पष्ट पार्दै आगामी दिनमा समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताएका छन्।
