काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी विषयसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी मन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्।
मन्त्री रावल भदौ ६ गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायत जिल्लामा रहने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उनले स्थानीय नागरिक तथा सरोकारवालासँग प्रत्यक्ष भेटघाट गरी मन्त्रालयसँग जोडिएका समस्या र गुनासो सुन्ने कार्यक्रम रहेको छ।
विशेषगरी सहकारी क्षेत्रका समस्या, भूमिहीन तथा सुकुम्बासी नागरिकका गुनासा र स्थानीय तहसँग सम्बन्धित विषयमा मन्त्री रावलले जानकारी लिनेछिन्। साथै, सरकारले अघि बढाइरहेका कार्यक्रम, हालसम्म भएका प्रगति तथा आगामी दिनमा सञ्चालन गरिने योजनाबारे स्थानीयस्तरमा जानकारी गराउने तयारी छ।
मन्त्री रावलले राजधानीबाट मात्रै समस्या बुझ्नुभन्दा सम्बन्धित स्थानमै पुगेर नागरिकका गुनासा सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले सुदूरपश्चिम भ्रमण गर्न लागेको बताएकी छन्।
