काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा भएको कुटपिटमा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित उक्त होस्टेलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार होस्टेलमै बस्ने बारा, कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले कालाथोकीमाथि धारिलो हतियार प्रहार गर्नुका साथै कुटपिट गरेका थिए।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
