उदयपुर । डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत वन अधिकृत भुवन पौडेल घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय परिसरबाटै सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी पौडेललाई १६ हजार २५० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार पौडेलले सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गराइदिने भन्दै रकम मागेको र सोही क्रममा रकम लिएको आरोप छ। विशेष सूचनाका आधारमा निगरानी गरिरहेको अख्तियारको टोलीले बिहीबार दिउँसो उनलाई पक्राउ गरेको जनाएको छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले पनि वन अधिकृत पौडेल नगदसहित पक्राउ परेको जानकारी आफूलाई प्राप्त भएको बताए। पक्राउसम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने उनले बताए।
अख्तियारले घटनासँग सम्बन्धित थप तथ्य तथा प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको छ। पौडेलमाथि लागेको आरोपको कानुनी पुष्टि अनुसन्धान तथा त्यसपछिको कानुनी प्रक्रियाबाट हुने आयोगले जनाएको छ। पौडेलको उदयपुरमा करिब १४ महिनाअघि पहिलो पदस्थापन भएको बताइएको छ।
