मेयरसँग भनाभनपछि सञ्चारमन्त्रीको बैठकबाट बाहिरिइन् आशिका तामाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफलबाट बाहिरिएकी छन्।

बञ्चरेडाँडामा फोहोर विसर्जनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका प्रयासबारे छलफल गर्न बैठक बोलाइएको थियो। बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भए पनि आफूहरूमाथि विभिन्न आरोप लगाउने र मुद्दा लगाउने गरिएको गुनासो गरेका थिए।

काम गरिरहेको अवस्थामा सांसदहरूबाट समेत दबाब आउने गरेको उल्लेख गर्दै महर्जनले वास्तविक अवस्था बुझेर मात्रै धारणा बनाउन आग्रह गरेका थिए। महर्जनको भनाइपछि सांसद तामाङले आपत्ति जनाएपछि दुवैबीच भनाभन भएको थियो। विवाद बढ्दै गएपछि सञ्चारमन्त्री तिमिल्सिनाले हस्तक्षेप गर्दै वातावरण सहज बनाउने प्रयास गरेका थिए। तर, विवाद तत्काल साम्य हुन नसकेपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी हुन्। उनी बैठकप्रति असन्तुष्टि जनाउँदै बाहिरिएको बताइएको छ।

Back To Top
Modern Footer Design