हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले आवश्यक लगानी गर्ने बताएकी छन्।
शनिबार हेटौंडा उपमहानगरपालिका–८ स्थित कपडा उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालनको उपयुक्त मोडालिटीबारे छलफल भइरहेको जानकारी दिइन्। उनले हेटौंडा कपडा उद्योगसँगै अन्य बन्द उद्योगलाई समेत पुनः सञ्चालन गर्ने सरकारको तयारी रहेको बताइन्।
निरीक्षणका क्रममा मन्त्री यादवले नेपाली सेनाका अधिकारी तथा सम्बन्धित सरोकारवालासँग उद्योगको पूर्वाधार, मेसिनको अवस्था, सञ्चालनका चुनौती तथा उत्पादन बढाउने सम्भावनाबारे जानकारी लिइन्।
उद्योगमा रहेका ४८८ वटा तानमध्ये हाल १२ वटा मात्र सञ्चालनमा रहेको जानकारी मन्त्रीलाई गराइएको थियो। उद्योग सञ्चालनसँगै उत्पादन वृद्धि र रोजगारी सिर्जनाका विषयमा पनि छलफल भएको थियो। साढे दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा केही समयअघि परीक्षण उत्पादन सुरु गरिएको थियो। सरकारले उद्योगको मर्मतसम्भार गरी उत्पादन अघि बढाउने जिम्मेवारी नेपाली सेनालाई दिएपछि साउन २३ गते दुई वटा लुम सञ्चालन गरेर प्रारम्भिक उत्पादन परीक्षण गरिएको थियो।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा २०३२ सालमा स्थापना भएको उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको थियो। राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, प्रविधिको आधुनिकीकरण नहुनु, लोडसेडिङ, अत्यधिक जनशक्ति तथा बढ्दो आर्थिक दायित्वलगायतका कारण उद्योग संकटमा परेको थियो। २०५६ सालदेखि उत्पादन बन्द हुन थालेको उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि २०५९ सालमा तत्कालीन सरकारले उद्योग पूर्ण रूपमा बन्द गर्ने औपचारिक निर्णय गरेको थियो।
