टाइफुन नाराको प्रभावले दक्षिण चीनमा बाढी, करिब ४ हजार नागरिकको उद्धार

काठमाडौं । टाइफुन नाराको प्रभावका कारण दक्षिण चीनको ग्वाङ्सी प्रान्तमा भीषण बाढी आएको छ।

बाढीका कारण प्रभावित क्षेत्रका करिब ४ हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। ग्वाङ्सीको फाङचेनगाङ सहरअन्तर्गत साङ्सी काउन्टीमा बाढीले जनजीवन प्रभावित भएपछि उद्धार टोलीलाई चौबीसै घण्टा परिचालन गरिएको छ। टाइफुनको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले शनिबार राति उक्त क्षेत्रमा दोस्रो तहको चेतावनीसमेत जारी गरेको थियो।

स्थानीय अधिकारीहरूका अनुसार आइतबार साँझसम्म बाढी प्रभावित क्षेत्रबाट करिब ४ हजार सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका गतिविधि निरन्तर जारी रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

Back To Top
Modern Footer Design