काठमाडौं । बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले आईपीओको दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्न लागेको हो। कम्पनीले सर्वसाधारणतर्फ कुल ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गर्ने जनाएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने समय छिटोमा भदौ २५ गतेसम्म र मागअनुसार ढिलोमा असोज ५ गतेसम्म कायम रहनेछ। बेनी हाइड्रोपावरले सोलुखुम्बुमा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना निर्माण गरेको छ।
आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। यस आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीमा वित्तीय दायित्व पूरा गर्ने क्षमतासम्बन्धी औसत जोखिम रहेको संकेत गर्छ। आयोजनाको लगानी फिर्ता हुने सामान्य अवधि ५.७८ वर्ष रहेको छ। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबि क्यापिटलले पाएको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो शेयर’बाट अनलाइन आवेदन दिन सक्नेछन्।
