काठमाडौं । रसुवामा बुधबार बिहान आएको बाढीमा परेर घाइते भएका तथा उद्धारपछि काठमाडौं ल्याइएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उद्धार गरिएका घाइतेमध्ये केहीको राष्ट्रिय ट्रमा सेन्टर र केहीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उद्धार गरिएकामा नुवाकोटको विदुर नगरपालिका–५ का ४२ वर्षीय भक्त भण्डारी, ४१ वर्षीया सीता भण्डारी, २४ वर्षीय विवेक कुमाल, ३४ वर्षीय तेजबहादुर तामाङ, ४८ वर्षीय पेम्बा तामाङ, कुशल मगर, ३३ वर्षीय मीनबहादुर श्रेष्ठ, नाम नखुलेका कार्की, नामथर खुल्न नसकेका एक जना, ४० वर्षीय गिरिलाल बुढाथोकी, २३ वर्षीय रुपक रोका, ३५ वर्षीय सुजन बस्नेत र २३ वर्षीय सुशान्त श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था तथा थप विवरण संकलन भइरहेको छ।
