काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार दिउँसो पौने ३ बजेसम्म रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानबाट १६ जनाको शव फेला परेको हो। जसमध्ये रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको शव भेटिएको छ। फेला परेका शवमध्ये ७ जना महिला, ८ जना पुरुष र एक जनाको पहिचान तथा लिङ्ग खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा खोजी कार्य जारी राखेका छन्। सम्पर्कविहीन व्यक्तिहरूको समेत खोजी भइरहेको छ।
