भोटेकोशी बाढी : विभिन्न देशका ११७ पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका विदेशी पर्यटकमध्ये हालसम्म ११७ जनाको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएका पर्यटक विभिन्न पाँच देशका नागरिक रहेका छन्।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरका अनुसार उद्धार गरिएकामध्ये भारतका ८५ जना, चीनका १६ जना, दक्षिण कोरियाका ९ जना, अमेरिकाका २ जना र इटलीका २ जना रहेका छन्। यस्तै, देश खुल्न नसकेका थप तीन जनाको पनि उद्धार गरिएको बोर्डले जनाएको छ। बाढीपछि अझै केही पर्यटक सम्पर्कविहीन रहेको भन्दै उनीहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनको समन्वयमा खोजी भइरहेको हो।

प्रभावित क्षेत्रमा फसेका पर्यटक तथा स्थानीयको उद्धारका लागि ट्रेकिङ कम्पनी, गाइड र सुरक्षा निकायसमेत परिचालन भएका छन्।पर्यटन बोर्डले हराइरहेका व्यक्तिहरूको विवरण संकलन तथा प्रमाणीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। साथै, प्राप्त सूचनाहरू नियमित रूपमा अद्यावधिक भइरहेको बोर्डको भनाइ छ।बोर्डले उद्धार तथा आवश्यक सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ र पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

Back To Top
Modern Footer Design