नर्वेका नयाँ नरेशले ‘हाकोन आठौँ’ ह्याकोन भिआइआइआइका रूपमा आफ्नो शासनकाल शुरु गर्नुभएको छ । ओस्लोस्थित राजदरबारमा शुक्रवार आयोजित राज्य परिषद्को विशेष बैठकमा उनले औपचारिक रूपमा राजगद्दी सम्हालेको घोषणा गरिएको हो । नर्वेजियाली सरकारद्वारा प्रकाशित आधिकारिक दस्ताबेजअनुसार, नयाँ राजाले आफ्नो शासनकालको आदर्श वाक्य ‘आल्ट फोर नोर्गे’ (सबै नर्वेका लागि) रहने जानकारी दिनुभएको छ । सो अवसरमा राजा हाकोन आठौँले आफ्ना पिता राजा ह्याराल्ड पाँचौँको निधनबारे सरकारलाई औपचारिक जानकारी गराउँदै संवैधानिक व्यवस्थाअनुसार आफूले राजाको जिम्मेवारी सम्हालेको बताउनुभएको थियो ।
उहाँले शोकको घडीमा राजपरिवारप्रति सद्भाव र सहानुभूति प्रकट गर्ने सरकार र नर्वेजियाली जनतालाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री जोनास गाहर स्टोरले सरकार र जनताका तर्फबाट शोक व्यक्त गर्दै दिवङ्गत राजा ह्याराल्डले राष्ट्रका लागि जीवनभर पु¥याएको सेवा र समर्पणप्रति गहिरो कृतज्ञता प्रकट गर्नुभयो ।
यसअघि राजदरबारले ८९ वर्षीय राजा ह्याराल्ड पाँचौँको शुक्रवार बिहान ६ः३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्ण रूपमा निधन भएको जानकारी दिएको थियो । उहाँ लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो ।
नर्वेको उत्तराधिकारसम्बन्धी नियमअनुसार पिताको निधनलगत्तै ५३ वर्षीय हाकोन स्वतः राजा बन्नुभएको हो । यससँगै उहाँकी जेठी छोरी राजकुमारी इन्ग्रिड अलेक्जान्ड्रा नर्वेको ‘क्राउन प्रिन्सेस’ अर्थात् राजगद्दीको पहिलो हकदार बन्नुभएको छ ।
राजा ह्याराल्डलाई गत अगस्ट १७ मा अस्पताल भर्ना गरिएको थियो । उहाँ ‘हेमोलाइटिक एनेमिया’ र रक्त संक्रमण (ब्याक्टेरियल इन्फेक्सन) बाट ग्रसित हुनुहुन्थ्यो । बिहीवार मात्र राजदरबारले उहाँको स्वास्थ्य अवस्था थप बिग्रिएको र स्थिति ‘अत्यन्त गम्भीर’ रहेको सार्वजनिक गरेको थियो ।
सन् १९३७ फेब्रुअरी २१ मा जन्मिएका ह्याराल्ड आफ्ना पिता राजा ओलाभ पाँचौँको निधनपछि सन् १९९१ जनवरी १७ मा राजगद्दीमा आसीन हुनुभएको थियो । पछिल्ला केही वर्षयता उहाँ पटक–पटक अस्पताल भर्ना हुनुभएको थियो भने सन् २०२४ मा उहाँलाई स्थायी पेसमेकर समेत राखिएको थियो ।
नयाँ राजा हाकोन आठौँको जन्म सन् १९७३ जुलाई २० मा भएको हो । राजगद्दी सम्हाल्नुअघि उहाँले आफ्ना पिता बिरामी हुँदा वा विदेश भ्रमणमा रहँदा पटक–पटक कार्यवाहक राजा (रेजेन्ट) का रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
