काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकको दुवाचौरमा सबैभन्दा बढी १९.६ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागले बिहान ४ः४० बजे सार्वजनिक गरेको विवरणअनुसार हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा भइरहेको क्षेत्र तथा आसपासका भूभागमा थप वर्षा हुन सक्ने सम्भावना रहेको छ।लगातार वर्षाका कारण बाढी, पहिरो तथा अन्य जोखिम बढ्न सक्ने भएकाले वर्षा भइरहेका क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विशेषगरी नदी तथा खोलानाला आसपास, पहाडी क्षेत्रमा यात्रा गर्दा र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूले मौसमको अवस्था बुझेर सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
