कानून प्रतिशोधका लागि होइन, न्यायका लागि प्रयोग हुनुपर्छ : ज्ञानबहादुर शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले जनजी आन्दोलनको मूल भावना र जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै शाहीले सरकार प्रतिशोधको मानसिकताबाट बाहिर आएर सुशासन र रोजगारीका क्षेत्रमा ठोस काम गर्नुपर्ने बताए। सरकारले सही दिशामा काम गरे आफ्नो दलले विनाशर्त सहयोग गर्ने उनको भनाइ थियो। शाहीले आन्दोलनका क्रममा भएका हत्या, हिंसा तथा सिंहदरबार र संसद् भवनमा भएको तोडफोडका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने विषयमा सरकारले गम्भीरता देखाउन नसकेको आरोप लगाए।

उनले लामो समयदेखि चर्चामा रहेका ठूला भ्रष्टाचारका प्रकरणको छानबिन कहाँ पुगेको छ भन्दै सरकारसँग प्रश्न पनि गरे। एनसेल, गिरीबन्धु टी–स्टेट, भुटानी शरणार्थी प्रकरण र चिनियाँ विमान खरिदसम्बन्धी विवादको अनुसन्धानबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो। शाहीले कानून कसैलाई दुःख दिन वा राजनीतिक प्रतिशोध लिन प्रयोग गर्न नहुने बताए। कानूनको प्रयोग निष्पक्ष रूपमा न्याय स्थापित गर्नका लागि हुनुपर्नेमा उनले जोड दिए।

उनले आफूहरू सरकारको विरोधी नभई प्रतिपक्षी भएको स्पष्ट पार्दै भ्रष्टाचारविरुद्ध सरकारले कदम चाल्दा आफूहरूले साथ दिने बताए। उनका अनुसार सरकारका कमजोरी ढाकछोप गर्नुको सट्टा सत्तापक्षका सांसदहरूले नै आवश्यक ठाउँमा सरकारलाई सही बाटो देखाउन सक्नुपर्छ। यस्तै, शाहीले युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने बताए। विमानस्थलमा विदेश जाने युवाको बढ्दो भीड रोक्न देशमै रोजगारीको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। साथै, ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणासहित संविधान संशोधनको प्रक्रिया अघि बढाउन पनि उनले माग गरे।

Back To Top
Modern Footer Design