नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार बिहान करिब पौने ४ बजे दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार चालकले बस नियन्त्रणमा लिन नसक्दा बस सडकबाट नालातर्फ खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित १८ जना यात्रु सवार थिए। दुर्घटनामा दुई जना भने सकुशल रहेको बताइएको छ। मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। बाँकी पाँच मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्र प्रसाद भण्डारी, बर्दियाकी आकृति, सञ्जय थारु, लालबहादुर कार्की, बाजुराका पवन बुढा, प्रेम बम, ललितपुरका अनोज खत्री, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी घाइते भएका छन्।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design