कांग्रेस महाधिवेशनका प्रतिनिधिका लागि काठमाडौंमा ५ हजार कोठा व्यवस्थापन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं आउने प्रतिनिधि तथा शुभेच्छुकका लागि विभिन्न क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको छ। महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ।

प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि काठमाडौंका गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रका होटल बुक गरिएको छ। आवास व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजनमा होटल व्यवस्थापन गरिएको हो। नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लिलाप्रसाद ढकालका अनुसार करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुकलाई बस्न मिल्ने गरी करिब ५ हजार कोठाको व्यवस्थापन गरिएको छ। प्रतिनिधिका लागि सहुलियत दरमा होटल उपलब्ध गराइएको उनले बताए।

प्रदेशअनुसार प्रतिनिधिहरूलाई फरक–फरक क्षेत्रमा बस्ने व्यवस्था गरिएको छ। कोशी र मधेस प्रदेशबाट आउने प्रतिनिधिका लागि गौशाला तथा कोटेश्वर, बागमतीका लागि लाजिम्पाट र ठमेल तथा गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क क्षेत्रमा होटलको व्यवस्था गरिएको छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि सुन्धारा र कलंकी क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको छ। विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधिहरूका लागि भने लाजिम्पाट र ठमेल क्षेत्रमा होटलको प्रबन्ध गरिएको छ।

महाधिवेशनमा सहभागी हुने जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाका प्रतिनिधिले आफ्नो आवास र होटल खर्च आफैँ व्यहोर्नुपर्ने कांग्रेसले जनाएको छ। विदेशबाट आउने पाहुनाको आवास खर्च भने पार्टीले व्यहोर्ने केन्द्रीय सदस्य धमलाले जानकारी दिए। प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खानाको व्यवस्था पनि पार्टीले गर्ने भएको छ। भृकुटीमण्डपमा खाना उपलब्ध गराइने बताइएको छ।

आवाससम्बन्धी कुनै समस्या भए नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघमार्फत सहजीकरण गरिने जनाइएको छ। कांग्रेसले आफ्नो वेबसाइटमा होटलको नाम, क्षेत्र र शुल्कसम्बन्धी विवरणसमेत सार्वजनिक गरेको जनाएको छ। कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज १८ गतेदेखि सुरु भई असोज २२ गतेसम्म सञ्चालन हुने बताइएको छ।

Back To Top
Modern Footer Design