काठमाडाैँ । उदयपुरको कटारी क्षेत्रमा टिपर सञ्चालनमा लगाइएको रोकको विरोधमा टिपर व्यवसायीहरू सडकमा उत्रिएका छन्।
व्यवसायीहरूले मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्डमा टिपर तेर्स्याएर प्रदर्शन गरेपछि सडक आवागमन प्रभावित भएको छ। सिमेन्ट उद्योगका लागि चुनढुंगा उत्खनन तथा ढुवानी गर्ने विषयलाई लिएर स्थानीयवासी र टिपर व्यवसायीबीच विवाद बढ्दै गएपछि व्यवसायीहरूले आन्दोलन थालेका हुन्। स्थानीयको विरोधका कारण चुनढुंगा ढुवानी प्रभावित हुँदा आफूहरूको व्यवसाय र रोजगारी संकटमा परेको व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूले कानुनअनुसार व्यवस्थित रूपमा टिपर सञ्चालन गर्न दिनुपर्ने, चुनढुंगा ढुवानी नरोक्नुपर्ने तथा व्यवसायमा गरिएको लगानी र रोजगारीको संरक्षण गर्नुपर्ने माग राखेका छन्। यसअघि पनि कटारी नगरपालिका–४ को सिम्ले बजार क्षेत्रमा टिपर व्यवसायीहरूले सडकमा टायर बालेर विरोध जनाएका थिए। त्यसक्रममा टिपर तेर्स्याएर सिद्धिचरण लोकमार्ग अवरुद्ध गरिएको थियो। प्रहरीले हस्तक्षेप गरेपछि केही समयमै सडक सञ्चालनमा आएको थियो।
यता स्थानीयवासीले भने बस्ती हुँदै भारी टिपर सञ्चालन गर्दा सडक, वातावरण तथा स्थानीय जनजीवनमा असर परेको भन्दै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने माग गर्दै आएका छन्। कटारी नगरपालिका–७ मर्जेतपुर क्षेत्रका स्थानीयले चुनढुंगा ढुवानीका लागि मरुवा–नैनखाडी–आहालेतर्फको सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्नुपर्ने बताएका छन्। टिपर व्यवसायीको आन्दोलन र स्थानीयवासीको विरोधका कारण कटारीमा चुनढुंगा ढुवानीको विषय थप जटिल बन्दै गएको छ। सडक अवरुद्ध हुँदा कटारी बजार प्रवेश गर्ने मार्गसमेत प्रभावित भएको छ भने यात्रु तथा अन्य सवारीसाधनको आवागमनमा समेत समस्या देखिएको छ।
