फ्रान्समा विद्यार्थी आन्दोलन उग्र, ६ हजार ५ सयभन्दा बढी पक्राउ

काठमाडौं । शिक्षा क्षेत्रमा सुधारको माग गर्दै फ्रान्समा सुरु भएको विद्यार्थी आन्दोलन पछिल्लो समय थप उग्र बन्दै गएको छ।

विद्यालय भवनको मर्मत, शिक्षक अभाव अन्त्य, कक्षाकोठामा पर्याप्त भौतिक सामग्रीको व्यवस्था र शिक्षा बजेट बढाउनुपर्ने मागसहित सुरु भएको प्रदर्शन देशव्यापी आन्दोलनमा परिणत भएको हो। विद्यार्थीहरूले जीर्ण विद्यालय भवन, चुहिने छाना, मुसा तथा अन्य समस्याका साथै शौचालयमा समेत आवश्यक सुविधा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। गत सेप्टेम्बर २१ मा क्रेतेलस्थित एक विद्यालयको मुख्य प्रवेशद्वार बन्द गरेर सुरु भएको प्रदर्शन विस्तार हुँदै १ हजार २ सयभन्दा बढी विद्यालयमा तालाबन्दीसम्म पुगेको बताइएको छ।

अक्टोबर ६ अर्थात् मंगलबार आन्दोलनले थप उग्र रूप लिएको थियो। सरकारी तथ्याङ्कअनुसार त्यस दिन देशभर करिब २ लाख ६६ हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। त्यसमध्ये ५६ हजार जना पेरिसमा मात्रै सडकमा उत्रिएका थिए। यता आन्दोलन आयोजकहरूले भने प्रदर्शनमा सहभागी हुनेको संख्या ४ लाख ५० हजारभन्दा बढी रहेको दाबी गरेका छन्। पेरिससहित लियोन, मार्सेई, स्ट्रासबर्ग, रेनेस र टुलुजलगायत प्रमुख सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको जनाइएको छ।

फ्रान्सका शिक्षा मन्त्री एडवर्ड जेफ्रेले अहिलेसम्म २४ विद्यालयमा आगजनी वा ठूलो क्षति पुगेको बताएका छन्। उनका अनुसार ७८ जना कर्मचारी घाइते भएका छन् भने करिब ३० हजार विद्यार्थीको पढाइ प्रत्यक्ष प्रभावित भएको छ। आन्दोलनका क्रममा केही विद्यार्थी गम्भीर रूपमा घाइते भएपछि सरकारमाथि प्रहरी कारबाहीलाई लिएर पनि प्रश्न उठेको छ। लेन्समा १५ वर्षीय विद्यार्थी प्रहरीको स्टन ग्रेनेड विस्फोटमा परी हात गुमाउन पुगेका छन्। त्यस्तै, पेरिसमा १४ वर्षीय विद्यार्थीको अनुहारमा अश्रुग्यासको गोला लाग्दा उनका केही दाँत भाँचिएको बताइएको छ।

यसबीच प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले ६ हजार ५ सयभन्दा बढी मानिसलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ८५ प्रतिशतभन्दा बढी नाबालिग रहेको जनाइएको छ। मंगलबार मात्रै ४८८ जना प्रहरी नियन्त्रणमा परेका थिए। सरकारले भने हिंसात्मक गतिविधि भएका स्थानमा मात्रै प्रहरीले बल प्रयोग गरेको दाबी गरेको छ। गृह मन्त्री लरेन्ट नुनेज र प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसा नियन्त्रणका लागि आवश्यक कदम चालिने बताएका छन्।

आन्दोलन थप चर्किएपछि प्रधानमन्त्री लेकोर्नुले स्कुले विद्यार्थीका लागि एक सातासम्म कक्षा स्थगित गर्ने घोषणा गरेका छन्। राष्ट्रपति एमानुएल म्याक्रोँले पनि विकसित परिस्थितिबारे छलफल गर्न आपत्कालीन बैठक बोलाएका छन्। विद्यार्थी युनियनहरूले भने बिहीबार पुनः देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेका छन्। सरकारले सन् २०२७ को शिक्षा बजेटमा ५४ अर्ब युरो कटौती गर्ने निर्णय गरेको विषयले पनि आन्दोलनलाई थप बल पुगेको बताइएको छ। आम निर्वाचन आउन करिब ६ महिना बाँकी रहँदा चर्किएको विद्यार्थी आन्दोलन राष्ट्रपति म्याक्रोँ नेतृत्वको सरकारका लागि ठूलो राजनीतिक चुनौतीका रूपमा देखिएको छ।

Back To Top
Modern Footer Design