काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिनुका तीन प्रमुख कारण रहेको बताएका छन्। उनले नेता–कार्यकर्ताको आग्रह, पार्टीभित्र वैचारिक बहसलाई व्यवस्थित बनाउने चाहना र आफ्नो राजनीतिक आकांक्षाका कारण महामन्त्रीमा प्रतिस्पर्धा गर्न लागेको बताएका हुन्।
विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका राणाले आफ्नो कार्यशैलीबाट पार्टीका नेता, कार्यकर्ता र सभापतिको विश्वास हासिल गरेको दाबी गरे। आफूलाई महामन्त्रीको उम्मेदवार बन्न कार्यकर्ताबाट निरन्तर सुझाव र आग्रह आएको उनको भनाइ छ। राणाका अनुसार उनको शैक्षिक पृष्ठभूमि र पार्टीमा प्राप्त अनुभवले संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउन सहयोग पुग्नेछ। कार्यकर्ताहरूले पनि आफूले पार्टी संगठनलाई पुनर्जीवित गर्न भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेको उनले बताए।
उनले पार्टीभित्र समाजवाद र सामाजिक लोकतन्त्रबारे भइरहेको बहसलाई थप व्यवस्थित र व्यापक बनाउने आफ्नो अर्को उद्देश्य रहेको बताए। महामन्त्री बनेमा यस्ता वैचारिक विषयमा पार्टीभित्र गम्भीर छलफल अघि बढाउन आफूले भूमिका खेल्ने उनको भनाइ छ। त्यस्तै, पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्तालाई पनि पार्टीको मूल प्रवाहमा समेट्ने आफ्नो प्राथमिकता रहेको राणाले बताए। उनका अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका नेता–कार्यकर्तालाई समेत पार्टीको मूलधारमा ल्याउन आफूले भूमिका निर्वाह गर्नेछन्।
राणाले महामन्त्री पदमा प्रतिस्पर्धा गर्नुको अर्को कारण राजनीतिक महत्वाकांक्षा भएको स्पष्ट पारे। पार्टीमा सक्रिय भएर काम गर्ने हरेक व्यक्तिको कुनै न कुनै राजनीतिक लक्ष्य हुने भन्दै उनले आफू पनि यथास्थितिमा नरहेर थप जिम्मेवारी लिन चाहेको बताए। आफ्नो व्यक्तिगत छवि र आर्थिक तथा सामाजिक पृष्ठभूमिमा कुनै दाग नरहेको दाबी गर्दै राणाले पार्टीको सार्वजनिक छवि सुधार्न पनि आफूले योगदान दिन सक्ने बताए। कांग्रेसको पछिल्लो छविमा केही क्षति पुगेको उल्लेख गर्दै उनले महामन्त्री बनेमा पार्टीको इमेज सुधार्ने दिशामा काम गर्ने बताएका छन्।
