सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

धनगढी । लामो समयदेखि बजेटको अन्योलमा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेको छ।

आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले सरकारको बजेट सार्वजनिक गरेका हुन्। बजेट प्रस्तुत भएसँगै प्रदेशमा आर्थिक गतिविधि तथा विकास निर्माणका काम अघि बढ्ने अपेक्षा गरिएको छ। सरकारले बजेट कार्यान्वयनका लागि विभिन्न स्रोतबाट रकम जुटाउने अनुमान गरेको छ। आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ भने नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटतर्फ १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ अनुमान गरिएको छ।

त्यसैगरी, संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ। वित्तीय समानीकरण अनुदानतर्फ संघीय सरकारबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा बजेटमा गरिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटबाट खर्च भई बाँकी रहने अनुमानित ९ अर्ब ६५ करोड रुपैयाँलाई पनि बजेटको स्रोतका रूपमा समेटेको छ।

यसका अतिरिक्त सशर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, संघीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। लामो समयदेखि बजेट अभावका कारण प्रभावित बनेका प्रदेश सरकारका आर्थिक तथा विकास निर्माणसम्बन्धी कार्यक्रम अब बजेट कार्यान्वयनसँगै अघि बढ्ने अपेक्षा गरिएको छ।

Back To Top
Modern Footer Design