काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले नेपाल–चीनबीच रहेका १४ वटा परम्परागत सीमा व्यापार नाकालाई नियमित रूपमा सञ्चालनमा ल्याउन र तिनको अवस्था सुधार गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
संसदीय सुनुवाइका क्रममा शर्माले दुई देशबीचको व्यापार, पारवहन र सम्पर्क सञ्जाल विस्तारलाई प्राथमिकतामा राख्ने बताएका हुन्। उनले सीमा नाकाको नियमित सञ्चालनले सीमावर्ती क्षेत्रका बासिन्दाको जीवनयापन र दुई देशबीचको व्यापारिक गतिविधिमा सहयोग पुग्ने बताए। नेपाल–चीन पारवहन तथा यातायात सम्झौताबाट प्राप्त सुविधाको अधिकतम उपयोग गर्ने योजना पनि उनले अघि सारेका छन्। यसअन्तर्गत चारवटा समुद्री बन्दरगाह र तीनवटा आन्तरिक सुख्खा बन्दरगाहको प्रभावकारी उपयोगमा जोड दिने उनको भनाइ छ।
त्यसैगरी, नेपाल र चीनबीच रेल सम्पर्क विस्तारको सम्भावनाबारे नजिकबाट अध्ययन तथा अनुगमन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। ल्हासा, सीमावर्ती समुदाय र पारवहन सहकार्यसँग सम्बन्धित विषयलाई पनि आफ्नो कार्ययोजनामा समेटेको शर्माले बताएका छन्। शर्माले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई सीमा नाका सञ्चालन, व्यापार प्रवर्द्धन, कैलाश मानसरोवर तीर्थयात्रा सहजीकरण तथा चीनमा रहेका नेपाली नागरिकको हित संरक्षणका लागि प्रभावकारी केन्द्रका रूपमा विकास गर्ने योजना सुनाएका छन्। यसका साथै, विदेशमा रहेका नेपालीलाई आवश्यक सेवा उपलब्ध गराउन कन्सुलर क्षमता अभिवृद्धि गर्ने र आपत्कालीन अवस्थामा नेपाली नागरिकलाई सहायता प्रदान गर्ने व्यवस्था थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले जनाएका छन्।
