बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। गृह मन्त्रालयका अनुसार उनी दिउँसो १ बजे भारततर्फ गएका हुन्।

गुरुङले असोज २७ गते बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त बैठकमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्यान्डका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरू सहभागी हुनेछन्। बैठकमा लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादमा हुने वित्तीय लगानी, साइबर अपराध तथा विपद्जन्य सुरक्षा चुनौतीलगायत विषयमा छलफल हुने जनाइएको छ। सदस्य राष्ट्रबीच अन्तरदेशीय अपराध नियन्त्रण र क्षेत्रीय सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि जोड दिइनेछ।

नेपालले विशेषगरी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्ने भएको छ। विपद्सम्बन्धी पूर्वसूचना प्रणाली बलियो बनाउने तथा उद्धार र राहत कार्यमा क्षेत्रीय सहकार्य विस्तार गर्ने विषय नेपालका तर्फबाट उठाइने गृह मन्त्रालयले जनाएको छ। बैठकका क्रममा सुरक्षा क्षेत्रसँग सम्बन्धित बिमस्टेकका विभिन्न संयन्त्रमा भएका छलफल र दस्तावेजलाई अन्तिम रूप दिनुका साथै घोषणापत्रसमेत जारी गर्ने तयारी छ।

बिमस्टेकको सुरक्षा क्षेत्रसम्बन्धी उच्चस्तरीय संयन्त्रको यो पहिलो बैठक भारतमा आयोजना हुन लागेको हो। यसको अवधारणा सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनबाट अघि बढाइएको थियो। गृहमन्त्री गुरुङले भ्रमणका क्रममा आफ्ना भारतीय समकक्षीलगायत अन्य समकक्षीसँग भेटघाट तथा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम पनि रहेको मन्त्रालयले जनाएको छ। उनी असोज २८ गते बुधबार स्वदेश फर्किने कार्यतालिका छ। गृहमन्त्रीका रूपमा गुरुङको यो पहिलो औपचारिक विदेश भ्रमण हो।

Back To Top
Modern Footer Design