नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

आश्विन शुक्ल षष्ठीका दिन वैदिक सनातन धर्मावलम्बीले दसैँघर तथा पूजा कोठामा देवी कात्यायनीको विशेष पूजा गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार कात्यायनी देवीको नाम कात्यायन ऋषिसँग जोडिएको छ। पौराणिक कथाअनुसार देवीले कात्यायन ऋषिको आश्रममा पुत्रीका रूपमा अवतार लिएकी थिइन्। त्यसैले उनको नाम कात्यायनी रहन गएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ। नवरात्रको अवसरमा घटस्थापना गरिएको स्थानमा नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा गरिन्छ। छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको आराधना गर्ने परम्परा छ।

नवरात्रभर दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवी भागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ। देवीको श्रद्धापूर्वक पूजा आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यस वर्ष असोज २५ गते आइतबार घटस्थापना गरी जमरा राखेसँगै नवरात्र सुरु भएको हो। नवरात्रका नौ दिनसम्म देवीका विभिन्न स्वरूपको पूजा गरेपछि विजयादशमीका दिनदेखि टीका र जमरा लगाएर दसैँ मनाउने गरिन्छ। कतिपय समुदायमा कुलपरम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका लगाउने प्रचलन पनि छ। धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउन सकिन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको चहलपहल बढेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजन पूजा तथा दर्शनका लागि पुग्ने गरेका छन्। त्यस्तै, उपत्यकाबाहिरका मनकामना, पाथीभरा, गढीमाई, छिन्नमस्ता, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि नवरात्रका अवसरमा विशेष पूजा आराधना गरिँदै आएको छ। दुर्गा पक्षका रूपमा चिनिने नवरात्रले धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भावलाई जोड्ने विश्वास गरिन्छ। दसैँको मुख्य पर्व विजयादशमी नजिकिँदै गर्दा देशभरका देवी मन्दिरमा पूजाआजा गर्ने भक्तजनको उपस्थिति थप बढ्दै गएको छ।

Back To Top
Modern Footer Design