काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीको नेतृत्व चयन प्रक्रियामा परिवर्तन गर्ने तयारी गरेको छ। सभापति गगनकुमार थापाले अब पार्टीको नेतृत्व छान्दा तल्लो तहदेखि सबै कार्यकर्ताले प्रत्यक्ष मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टीको नीति निर्माण र नेतृत्व चयन प्रक्रियालाई फरक ढंगले अघि बढाउनुपर्ने धारणा राखे। उनका अनुसार नीति निर्माणका लागि महासमिति सदस्य चयन गर्न सकिए पनि पार्टीको नेतृत्व छान्ने अधिकार भने सबै कार्यकर्तालाई दिनुपर्छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सिकेका कुरालाई आत्मसात् गर्दै कांग्रेसलाई थप लोकतान्त्रिक र पारदर्शी बनाउने उनको भनाइ छ। अहिलेको बहुस्तरीय अधिवेशन प्रणाली व्यावहारिक नभएको उल्लेख गर्दै थापाले यसमा सुधार आवश्यक रहेको बताए।
उनले राजनीतिक दल कुनै व्यक्तिको निजी सम्पत्ति नभई जनता र कार्यकर्ताको भरोसामा चल्ने सार्वजनिक संस्था भएको पनि बताए। पार्टीले वैधानिक प्रक्रियाअनुसार अधिवेशन गर्नुपर्नेमा जोड दिँदै उनले कार्यकर्ताको सहभागितालाई महत्त्व दिनुपर्ने धारणा राखे। पार्टीको निर्वाचनमा जित्ने र हार्ने दुवै पक्षलाई संयमित हुन आग्रह गर्दै थापाले पराजित हुँदैमा कोही अयोग्य नहुने स्पष्ट पारे। केन्द्रीय समितिमा आउनुपर्ने केही योग्य साथीहरू बाहिरिएको भन्दै उनीहरूलाई पनि पार्टीको मूल प्रवाहमा समेट्नु आफ्नो जिम्मेवारी भएको उनले बताए।
थापाले कांग्रेस सरकारमा रहने वा नरहनेभन्दा पनि पार्टीको वैचारिक आधार बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गरे। कांग्रेस के हो र किन आवश्यक छ भन्ने कुरा प्रत्येक सदस्यले महसुस गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। विशेष महाधिवेशनपछि पार्टीलाई समयअनुसार परिवर्तन गर्दै थप लोकतान्त्रिक र पारदर्शी बनाउने आफ्नो लक्ष्य रहेको पनि सभापति थापाले बताएका छन्।
