एसपी अंगुर जीसीलाई पूर्णशान्ति पुरस्कार, डीआईजी भुपेन्द्र खत्रीको नेतृत्वको कार्यालय उत्कृष्ट

काठमडाैँ। नेपाल प्रहरीको ७१औँ स्थापना दिवसका अवसरमा बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जीसी पूर्णशान्ति पुरस्कारबाट सम्मानित भएका छन्।

प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले जीसीलाई पुरस्कार प्रदान गरेका हुन्। यसैगरी, यस वर्षको प्रहरी ब्याटन डीआईजी भुपेन्द्र खत्रीले प्राप्त गरेका छन्। खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट घोषित भएको हो। त्यस्तै, अवकाशप्राप्त प्राविधिक प्रहरी नायब महानिरीक्षक डा. प्रेमलाल श्रेष्ठलाई नेपाल प्रहरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। गृहमन्त्री गुरुङले तीनै जना सम्मानित व्यक्तित्वलाई पुरस्कार हस्तान्तरण गरेका थिए।

यसैबीच, प्रहरी दिवसकै अवसरमा गृहमन्त्री गुरुङले नेपाल प्रहरीलाई अझ सक्षम, व्यावसायिक र आधुनिक बनाउन नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको बताएका छन्। उनले प्रहरी कर्मचारीको सेवा सुविधा, सरुवा–बढुवा र कार्यालयको डिजिटल प्रणालीलाई व्यवस्थित बनाउने सरकारको योजना रहेको उल्लेख गरे। साइबर अपराध, वित्तीय अपराध, डिजिटल फोरेन्सिक र डीएनए परीक्षणजस्ता क्षेत्रमा प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिए।

गृहमन्त्री गुरुङले प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्ने र प्रहरीको बर्दी जनताका लागि डरको नभई भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्ने बताए। नागरिकका गुनासा सुन्ने, निष्पक्ष अनुसन्धान गर्ने र विपद्का बेला प्रभावकारी उद्धारमा खटिने कार्यबाटै प्रहरीले जनताको विश्वास जित्न सक्ने उनको भनाइ थियो।

Back To Top
Modern Footer Design