काठमाडाैँ । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी बाढीपहिरोका कारण बन्द भएपछि तातोपानी नाका सञ्चालनमा ल्याउनुपर्ने माग बढेको छ। तर, नेपालले पटक–पटक आग्रह गर्दा पनि चीनले नाका खोल्ने विषयमा ठोस निर्णय लिन सकेको छैन।
चिनियाँ पक्षले तातोपानी नाका सञ्चालन गर्दा सुरक्षा चुनौती, ढुवानी व्यवस्थापनमा कठिनाइ र बारम्बार हुने पहिरोलाई मुख्य समस्याका रूपमा देखाएको छ। चिनियाँ राजदूत झाङ माओमिङले आपूर्तिमन्त्री दीपककुमार साहसँगको भेटमा चाडपर्वका बेला केही समयका लागि नाका खोल्न सकिने संकेत दिए पनि नियमित सञ्चालनका लागि विस्तृत अध्ययन आवश्यक रहेको बताएका थिए।
यस विषयमा भूराजनीतिक चासो पनि जोडिएको छ। नेपाली अधिकारीहरूका अनुसार चीनले तिब्बती मूलका व्यक्तिहरू नेपाल हुँदै भारततर्फ जाने विषयलाई सुरक्षा दृष्टिले संवेदनशील रूपमा हेर्दै आएको छ। यद्यपि, चीनले सार्वजनिक रूपमा नाका खोल्न अनिच्छुक हुनुको प्रमुख कारण सुरक्षा, ढुवानी र पहिरोको जोखिमलाई नै बताएको छ।
तातोपानी नाका नेपालका लागि व्यापारिक दृष्टिले निकै महत्त्वपूर्ण छ। यो काठमाडौंसँग नजिक हुनुका साथै सामान ढुवानी गर्न पनि तुलनात्मक रूपमा सस्तो पर्छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार तातोपानीबाट सामान काठमाडौं आइपुग्न १० देखि १२ दिन लाग्छ भने कोरलाबाट १४ देखि १५ दिन लाग्छ। एउटा कन्टेनर तातोपानीबाट ल्याउँदा करिब ५० हजार रुपैयाँ भाडा लाग्ने भए पनि कोरलाबाट ल्याउँदा करिब पाँच लाख रुपैयाँ खर्च हुने उनको भनाइ छ।
२०७२ सालको भूकम्पपछि लामो समय बन्द रहेको तातोपानी नाका २०७६ सालमा पुनः खुलेको थियो। तर, त्यसयता नाका नियमित रूपमा सञ्चालन हुन सकेको छैन। चीनतर्फ नेपाली वस्तुको निर्यात खुला भनिए पनि व्यवहारमा नेपालले आफ्ना उत्पादन चीन पठाउन कठिनाइ भोगिरहेको छ। रसुवागढी र कोरला नाकासमेत अवरुद्ध हुँदा तातोपानीको महत्त्व झन् बढेको छ। नेपालले विभिन्न कूटनीतिक माध्यमबाट नाका खुलाउन पहल गर्दै आए पनि चीनबाट ठोस निर्णय नआउँदा व्यवसायी र व्यापारिक आपूर्ति प्रणाली प्रभावित भइरहेका छन्।
