काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बस खुर्कोटमा दुर्घटना, ९ जना घाइते

ओखलढुंगा । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ। शुक्रबार दिउँसो भएको दुर्घटनामा कम्तीमा ९ जना यात्रु घाइते भएका छन्।

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बस सडकबाट करिब १० मिटर तल खसेको हो। बाप्र ०३–००१ ख २७७४ नम्बरको बस ब्याक गर्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठका अनुसार यात्रुहरूले होटलमा खाना खाएपछि बस अघि बढाउन पछाडि सारिएको थियो। सोही क्रममा बसको पछाडिको चक्का नालामा परेपछि बस अनियन्त्रित भएर सडकबाट तल खसेको हो।

दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी र स्थानीयवासीको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। उद्धार गरिएका ९ जनालाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पठाइएको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण खुलेको छैन। घटनास्थलमा थप घाइतेको खोजी तथा उद्धार भइरहेको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design