काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलम सरवारबीच बिदाइ भेट भएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा सार्कको प्रभावकारिता बढाउने र दक्षिण एसियाली मुलुकबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको हो। भेटका क्रममा जलवायु परिवर्तनका चुनौती र विपद्का बेला एकअर्कालाई सहयोग गर्ने विषयमा पनि जोड दिइएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा मन्त्री खनालले महासचिव सरवारले आफ्नो कार्यकालमा सार्कको संस्थागत विकास तथा क्षेत्रीय सहकार्य विस्तारका लागि पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
