काठमाडौं । राजधानी काठमाडौंमा बिरामीलाई आपत्कालीन स्वास्थ्य सेवा छिटो उपलब्ध गराउने उद्देश्यले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको छ।
काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै बाइक एम्बुलेन्स सेवा सुरु भएको जानकारी दिएकी हुन्। उनका अनुसार अब १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स माग गर्दा आवश्यकताअनुसार बाइक एम्बुलेन्ससमेत पठाइनेछ। विशेषगरी सडकमा हुने ट्राफिक जाम र चारपाङ्ग्रे सवारीसाधन पुग्न कठिन हुने साँघुरा गल्लीमा बिरामीलाई तत्काल सहायता पुर्याउन यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ।
काठमाडौंमा एम्बुलेन्सको संख्या पर्याप्त भए पनि बिरामी भएको ठाउँमा समयमै पुग्न चुनौती रहेको कार्यवाहक प्रमुख डंगोलले बताइन्। सवारी चाप र सडकको अवस्थाका कारण कतिपय स्थानमा एम्बुलेन्स पुग्न ढिलाइ हुने समस्यालाई ध्यानमा राखेर नयाँ सेवा सुरु गरिएको उनको भनाइ छ। बाइक एम्बुलेन्सलाई आपत्कालीन अवस्थामा पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा परिचालन गरिनेछ। चारपाङ्ग्रे एम्बुलेन्स पुग्न नसक्ने चोक तथा साँघुरा गल्लीमा पुगेर बिरामीलाई प्रारम्भिक स्वास्थ्य सहायता उपलब्ध गराउनु यसको मुख्य उद्देश्य हो। यो सेवाले आपत्कालीन अवस्थामा बिरामीसम्म छिटो स्वास्थ्यकर्मी र आवश्यक सहायता पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
