काठमाडौं ।अस्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रमा रहेको फ्लिन्डर्स टापुमा फैलिएको डढेलोले ठूलो क्षति पुर्याएको छ।
आगलागीका कारण घर तथा अन्य संरचना नष्ट हुनुका साथै वन्यजन्तुहरू आफ्नो बासस्थान छाड्न बाध्य भएका छन्। जोखिम बढेपछि केही सडकसमेत बन्द गरिएको आपत्कालीन सेवाले जनाएको छ।तस्मानियाबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा रहेको यस टापुको उत्तरी क्षेत्रमा आगो तीव्र गतिमा फैलिरहेको छ। डढेलो नियन्त्रणका लागि अग्निनियन्त्रकहरू परिचालन गरिए पनि प्रतिकूल मौसमका कारण उद्धार तथा नियन्त्रणको काम चुनौतीपूर्ण बनेको छ।
तस्मानिया अग्नि सेवाका क्षेत्रीय प्रमुख स्टिभ रिचर्डसनका अनुसार आगोको लप्का करिब १० मिटरसम्म अग्लो देखिएको छ। जोखिमबाट बच्न स्थानीय बासिन्दाहरू सुरक्षित स्थानमा आश्रय लिइरहेका छन्।उनले पछिल्ला दिनमा मौसम प्रतिकूल हुँदा आगलागीको नजिक पुगेर नियन्त्रण प्रयास गर्न कठिन भएको बताए। मौसम अनुकूल भएपछि आगो फैलिन नदिन नियन्त्रण रेखा निर्माण गर्ने काम अघि बढाइने उनको भनाइ छ।
डढेलोका कारण हालसम्म ६ वटा संरचनामा क्षति पुगेको वा ती पूर्ण रूपमा नष्ट भएका छन्। आगो नियन्त्रणका लागि छवटा हेलिकप्टरसमेत परिचालन गरिएको छ। रिचर्डसनले यो टापुको इतिहासकै सबैभन्दा ठूलो डढेलो नभए पनि निकै महत्त्वपूर्ण र गम्भीर आगलागीमध्ये एक हुन सक्ने बताएका छन्।
आगलागीले वन्यजन्तुको बासस्थानमा समेत असर पारेको छ। स्थानीय बासिन्दा एलन ह्वेटलीले सडकमा साना पोसमहरू देखिन थालेको बताउँदै आगो यसपटक निकै तीव्र गतिमा फैलिएको उल्लेख गरेका छन्। अर्का स्थानीय जेमी ब्रोसार्डले डढेलोबाट घर तथा सम्पत्ति गुमाएका परिवारप्रति दुःख व्यक्त गरेका छन्।
अस्ट्रेलिया लामो समयदेखि विनाशकारी डढेलोको जोखिममा रहँदै आएको छ। सन् २०१९ को अन्त्यदेखि २०२० को सुरुवातसम्म फैलिएको ‘ब्ल्याक समर’ डढेलोले लाखौँ हेक्टर वन क्षेत्र सखाप पार्नुका साथै हजारौँ घरमा क्षति पुर्याएको थियो।वैज्ञानिकहरूका अनुसार मानवीय गतिविधिका कारण बढिरहेको जलवायु परिवर्तनले यस्ता विनाशकारी डढेलोको जोखिम थप बढाएको छ। उनीहरूको अध्ययनले औद्योगिक युगअघि यस्तो प्रकृतिको आगलागी हुने सम्भावनाको तुलनामा अहिले जोखिम दोब्बर भएको देखाएको छ।
