रास्वपा मधेश विवादमा सभापति लामिछानेको छलफल, संगठनभित्र असन्तुष्टि उजागर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश प्रदेशमा अधिवेशन प्रक्रिया अवरुद्ध भएको विषयमा प्रदेश सांसदहरूसँग छलफल गरेका छन्।

बुधबार बिहान भएको छलफलमा सांसदहरूले मधेश प्रदेश सभापति तपेश्वर यादवको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै संगठन सञ्चालनमा एकल निर्णय र मनलाग्दी गतिविधि भएको गुनासो गरेका थिए। केही सांसदहरूले यादवलाई मधेशमा ‘सानो उपेन्द्र यादव’ जस्तो शैली अपनाउन खोजेको आरोपसमेत लगाएका थिए। उनीहरूले प्रदेश नेतृत्वले जातीय राजनीति र पक्षपातलाई प्रोत्साहन दिएको दाबी गरेका थिए।

प्रदेश सभापति यादव भने उक्त छलफलमा उपस्थित थिएनन्। सांसदहरूका अनुसार मधेशमा जिल्ला तथा प्रदेश अधिवेशन रोकिएको मुख्य कारण सदस्यता वितरण प्रक्रिया र त्यसको व्यवस्थापनमा देखिएको कमजोरी हो। अनलाइन सदस्यता प्रणाली मधेशको सन्दर्भमा उपयुक्त नभएको भन्दै यसको दुरुपयोग भएको गुनासोसमेत उठाइएको थियो।

सांसदहरूले चुनावअघि सक्रिय रहेका कार्यकर्ता र पछि आएका नयाँ सदस्यबीच समन्वयको अभावले संगठनभित्र विवाद बढेको बताएका छन्। कतिपय नयाँ अनुहारहरू संगठन कब्जा गर्ने उद्देश्यले अघि बढेको आरोप पनि छलफलमा उठेको थियो। हाल मधेशका आठ जिल्लामध्ये पर्सामा मात्र अधिवेशन सम्पन्न भएको छ भने अन्य जिल्लामा प्रक्रिया सुरु भए पनि नेतृत्व चयन हुन सकेको छैन। छलफलमा सभापति लामिछानेले सबै जिल्लामा आफैं पुगेर अधिवेशन गराउने र सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गर्ने बताएका छन्।

Back To Top
Modern Footer Design