अमेरिका । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ।
अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा सम्पन्न खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै बोस्नियामाथि स्पष्ट दबाब बनाएको थियो।
खेलको ७४औँ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए। त्यसपछि ८०औँ मिनेटमा बोस्नियाका तारिक मुहारेमोभिच रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि खेलको नियन्त्रण स्विट्जरल्यान्डतर्फ मोडियो। संख्यात्मक रूपमा कमजोर बनेको बोस्नियाविरुद्ध स्विट्जरल्यान्डले आक्रमणलाई थप तीव्र बनायो। ८४औँ मिनेटमा रुबेन वर्गासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए भने ९०औँ मिनेटमा जोहान मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३–० को बलियो अवस्थामा पुर्याए। इन्जुरी समयतिर एर्मिन माहमिकले गोल गर्दै बोस्नियाको तर्फबाट सान्त्वना गोल फर्काए।
तर खेलको अन्तिम क्षणमा स्विट्जरल्यान्डले पेनाल्टीको अवसर पायो, जसलाई कप्तान ग्रानिट जाकाले सदुपयोग गर्दै गोल गरे र टोलीको ४–१ को जित सुनिश्चित गरे। यस जितसँगै स्विट्जरल्यान्डले दुई खेलबाट चार अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। यसअघि पहिलो खेलमा उसले कतारसँग १–१ को बराबरी खेलेको थियो। यता, बोस्निया एन्ड हर्जगोभिनाले भने लगातार दोस्रो खेलमा जित निकाल्न सकेन। उसले पहिलो खेलमा क्यानडासँग १–१ को बराबरी खेलेको थियो। समूह ‘बी’ अन्तर्गत क्यानडा र कतारबीचको अर्को खेल नेपाली समयअनुसार बिहान पौने ४ बजे सुरु हुने तालिका छ।
