देवनगरमा ५० हेक्टर ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

चितवन । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम तथा निरीक्षण गरेकी छन्।

निकुञ्ज भ्रमणका क्रममा मन्त्री चौधरीले जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु सहअस्तित्वका उपायबारे सरोकारवालासँग छलफल गरिन्। उनले सरकारले संरक्षणसँगै द्वन्द्व न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। यस क्रममा उनले चितवनको देवनगरमा प्रस्तावित करिब ५० हेक्टर क्षेत्रफलमा निर्माण हुने ‘टाइगर सेन्चुरी’ स्थलको स्थलगत अवलोकन पनि गरिन्।

हाल इन्क्लोजरमा राखिएका समस्याग्रस्त बाघहरूको व्यवस्थापनका लागि यो संरचना उपयोगी हुने अपेक्षा गरिएको छ। मन्त्री चौधरीले टाइगर सेन्चुरीले घाइते तथा समस्याग्रस्त बाघलाई प्राकृतिक वातावरण उपलब्ध गराउने मात्र नभई पर्या–पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने बताइन्। त्यसैगरी उनले चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रको पनि निरीक्षण गरिन्। केन्द्रको ३३ वर्षे इतिहासमा ६८ वटा हात्तीका बच्चा जन्माएको तथ्यबारे जानकारी लिँदै उनले त्यहाँका स्वास्थ्य, आहारा व्यवस्थापन र अन्य चुनौतीबारे छलफल गरिन्।

मन्त्री चौधरीले घडियाल गोही प्रजनन केन्द्र र टिकौलीस्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको पनि अवलोकन गरिन्। कृष्णसार स्थानान्तरणको तयारीबारे जानकारी लिँदै उनले सुरक्षित व्यवस्थापनमा जोड दिइन्। साथै उनले सशस्त्र वन रक्षक तालिम केन्द्र र राष्ट्रिय प्रकृति संरक्षण कोषको वन्यजन्तु जेनोमिक प्रयोगशालाको पनि निरीक्षण गरिन्। उनले संरक्षण कार्यलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याइन्। भ्रमणका क्रममा उनले स्थानीय समुदायसँगको अन्तरक्रियामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि राहत, उद्धार र दीर्घकालीन संरचनात्मक योजनालाई प्राथमिकता दिइने बताइन्।

Back To Top
Modern Footer Design