हवाई इन्धन सस्तो भएपछि आन्तरिक उडानको भाडा घट्यो

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक उडानका लागि लागू हुने इन्धन सरचार्जमा कटौती गरेको छ। संशोधित दर बुधबारदेखि नै लागू गरिएको प्राधिकरणले जनाएको छ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाएपछि प्राधिकरणले नयाँ इन्धन सरचार्ज निर्धारण गर्दै सबै वायुसेवा कम्पनीलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो। निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट घटाएर २२९ रुपैयाँ कायम गरिएको थियो। यही मूल्य समायोजनलाई आधार मानेर प्राधिकरणले नयाँ सरचार्ज दर स्वीकृत गरेको जनाएको छ। प्राधिकरणका हवाई यातायात विभागका

प्रबन्धक रमेश कुमार महतका अनुसार संशोधित इन्धन सरचार्जका आधारमा नयाँ हवाई भाडा आजदेखि अनिवार्य रूपमा लागू गर्नुपर्नेछ। प्राधिकरणले नयाँ दर कार्यान्वयन नगर्ने वा उल्लङ्घन गर्ने वायुसेवा कम्पनीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ। नयाँ व्यवस्थासँगै सुगम र दुर्गम दुवै गन्तव्यका आन्तरिक उडानको भाडामा कमी आएको प्राधिकरणले जनाएको छ।

Back To Top
Modern Footer Design