काठमाडौँ । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले दुई तिहाइ बहुमतको बलमा सरकार मनोमानी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै त्यसप्रति लोकतान्त्रिक शक्तिहरूले समयमै खबरदारी गर्नुपर्ने बताएका छन्।
बुधबार पूर्वसांसद मञ्च नेपालको ६६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारका पछिल्ला गतिविधिले संविधान र लोकतान्त्रिक प्रणालीमाथि चुनौती सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गरे। ज्ञवालीले सत्तारुढ दलले संघीयता खारेज गर्ने दस्तावेज पारित गरेको उल्लेख गर्दै सरकारको उद्देश्य संविधानको मर्म कमजोर बनाउनेतर्फ केन्द्रित भएको आशंका व्यक्त गरे।
उनले प्रधानमन्त्री र सरकारले आफूखुशी निर्णय गर्न सक्ने मानसिकता विकसित हुनु लोकतन्त्रका लागि गम्भीर चेतावनी भएको बताए। दुई तिहाइ बहुमतलाई आधार बनाएर राज्य सञ्चालन गर्दा लोकतान्त्रिक मूल्य र संवैधानिक प्रणाली कमजोर बन्न सक्ने उनको भनाइ थियो। देश निर्वाचित तानाशाहीतर्फ जान सक्ने आशंका बढ्दै गएको उल्लेख गर्दै ज्ञवालीले संविधान र लोकतन्त्रको संरक्षणका लागि सबै लोकतान्त्रिक शक्ति एकजुट भएर सचेत रहनुपर्नेमा जोड दिए।
